कमिन्सको स्थानमा कोलकाताबाट साउथीले खेल्ने 

नयाँ दिल्ली (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सले न्युजिल्यान्डका तिव्र गतिका बलर टिम साउथीलाई अनुवन्ध गरेको छ । 

कोलकाताले साउथीलाई अस्ट्रेलियन बलर प्याट कमिन्सको स्थान पूर्तिका लागि भित्र्याएको हो । 

न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलरको सुचीमा साउथी तेस्रो नम्बरमा छन् । साउथीले यसअघि राजस्थान रोयल्स, चेन्नई सुपर किंङ्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्लोरबाट आइपिएल खेलिसकेका छन् । 

कमिन्सलाई कोलकाताले आइपिएल २०२० को अक्सनबाट १५.५ करोडमा किनेको थियो । त्यसयता उनी टोलीका प्रमुख सदस्य रहदै आएका थिए । तर कोभिड १९ का कारण प्रतियोगिता स्थगित भएपछि कमिन्सले दुबईमा हुने बाँकी खेल नखेल्ने निर्णय गरेका थिए ।

सेप्टेम्बर १९ देखी अक्टोबर १५ सम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आइपिएल सिजनका बाँकी खेलहरु हुने तय भएको छ ।

प्रतियोगितामा ८ खेलबाट १२ अंक जोडेको दिल्ली क्यापिटल्स शिर्ष स्थानमा छ । त्यस्तै ७ खेलबाट समान १० अंक जोडे पनि रनरेटमा चेन्नई दोस्रो स्थानमा रहँदा बेङ्लोर तेस्रो स्थानमा छ ।